सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेका पत्रकार विष्णु सुवेदीले बुधबार कार्यकारी अध्यक्षको कार्यभार समाल्दैछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले गुल्मीका सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यकारी अध्यक्ष कृष्णमुरारि भण्डारीले दिएपछि रिक्त पदमा सुवेदीलाई नियुक्त गरिएको हो । व्यासायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशिल सुवेदीले यसअघि हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, नेपाल समय डटकमलगायतका सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य भूमिकामा रहेर काम गरेका थिए । अन्नपूर्ण पोस्टमा दुईपटक अनलाइन सम्पादक भएका सुवेदीले अन्नपूर्ण मिडियमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर डेढ दसकभन्दा बढी समय काम गरेका थिए। २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यावसायिक यात्रा थालेका सुवेदीले संसद्, सुरक्षा, भ्रष्टाचारविरोधी तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन्। आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील छन्। पत्रकारिता क्षेत्रमा उहाँको व्यावसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थाले उनलाई पुरस्कृत गरेका छन् । कार्यकारी नियुक्त भएका सुवेदीले वर्तमान डिजिटल युग सुहाउँदो स्मार्ट गोर्खापत्रको लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तन अर्थात हार्डवेयर र सफ्टवेयर दुवैतर्फ मेजर अप्रेशन आवश्यक रहेको बताए ।