सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि सोमबार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाडौं फर्काएर अवतरण गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एउटा ल्यान्डिङ गिअरमा अचानक समस्या देखिएपछि गन्तव्यमा नपुग्दै विमानलाई फर्काइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । ‘विराटनगर पुग्नै लाग्दा विमानको दायाँपट्टिको ल्यान्डिङ गिअर लक भएर रातो बत्ती बल्यो। अनि पाइलटले ग्राउन्ड अपरेशनका इन्जिनियरसँग परामर्श गर्न थाल्नुभयो’ क्षेत्री भयो ।
‘पाइलट आफूले पनि प्रयास गर्दै गर्दा पछि तीनवटै ल्यान्डिङ गिअर ठिक देखियो र हरियो बत्ती पनि बल्यो । तर सुरक्षा सावधानी अपनाउँदै जहाजलाई उहाँले डाइभर्ट गर्नुभयो’, क्षेत्रीले थपे । उनका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फर्काइएपछि पनि कम उचाइमा विमानलाई उडाएर अवतरणको स्थितिको समीक्षा गरिएको थियो । ‘त्यसपछि जहाजलाई सुरक्षितर रूपमा अवतरण गराइएको हो। र, जहाज अहिले पार्किङमा छ’, उनले भने । ‘फोर्स्ड ल्यान्डिङका लागि फमको व्यवस्था मिलाइसकेका थियौँ र त्यसलाई मध्यनजर गरी दमकल र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका थियौँ’, उनले भने । घटना कति बेला भएको हो ? नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रवक्ता क्षेत्रीका अनुसार चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको एटीआर विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाडौं उडेको थियो । ‘विमानमा प्राविधिक समस्या देखिएको जानकारी ९ बजेर १५ मिनेटमा गराइएको थियो’ प्रवक्ता क्षेत्रीले भने । उनका अनुसार विराटनगर नजिकको आकाशबाट फर्काइएको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर २७ मिनेटमा अवतरण गराइयो । काठमाडौं र विराटनगर बीचको हवाई दूरी ४० मिनेटको छ ।
घटनाबारे बुद्ध एअर के भन्छ ? बुद्ध एअरका बजार प्रबन्धक रूपेश जोशीका अनुसार विमानको ल्यान्डिङ गिअरमा नभई त्यसको इन्डिकेटरमा समस्या देखिएको थियो । ‘प्राइमरी र सेकेन्डरी इन्टिकेटरमध्ये प्राइमरीमा सङ्केत नदेखिएर रातो बत्ती बलेको थियो’ जोशीले भने। ‘काठमाडौंको आकाशमा आइसकेपछि बुद्ध एअरको टेक्निकल टीमको रेडिओ सम्पर्कमा ल्यान्डिङ गिअर जाँच गर्दा सही र झरेको जानकारी दियो’ घटनापछि बुद्ध एअरद्वारा जारी विज्ञप्तिमा उल्खेख छ। ‘अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार सुरक्षितसाथ जहाजलाई नर्मल अवरण गराइयो’ बुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मार्न लगाएर अवतरण गराइएको बुद्ध एअरले जनाएको छ ।