चाडपर्वका लागि घर फर्किने नेपाली बढ्दै

सोमबार, असोज ११, २०७८

दार्चुला । दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् । 
भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परिक्षणसमेत गरिन थालेको छ । असोजयता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिनुभयो । पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको उनले बताए । उनीहरुमा कोरोनाको सङ्क्रमण नदेखियोस् भन्ने विवरण राख्न थालिएको उनले जानकारी दिए । “खेतीको काम पनि आयो, दशैं पनि नजिकिन थाल्यो”, बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराले भने , “अब दशैंतिहार मनाएर फेरि भारत फर्किन्छौं ।” उहाँ पिथौरागढ डिडिहाटमा काम गर्न जानुभएको थियो । यहाँका अधिकांश व्यक्ति भारतबाट दशैंतिहारमा घर फर्किने गर्छन् । अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्नेलगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन् । अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन् । चाडपर्वका कारण अहिले बसहरुमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताए । 

भारतबाट आउने नेपालीलाई सीमामै कोरोनाविरुद्वको खोप

स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्वको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो ।

भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् । आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको उनले बताए । 

गड्डाचौकी नाकालाई सहज बनाउन माग

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन ।
केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । 
नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए । 
“माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ ।” उनले भने, “पूर्णरुपमा अझै सहज भइसकेको छैन ।” उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए । यहाँ भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । “नाकालाई स्थानीय बजारलाई निर्वाधरुपमा खुलाउनुपर्छ” उनले भने, “स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।” पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच÷छ सय नेपाली घर फर्किरहेको बताए । 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज ११, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज ११, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज ११, २०७८