विश्व स्वास्थ्य सङ्गठनद्वारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन 

बुधबार, पुस २९, २०७७

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठनले आफ्ना विशेषज्ञले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराए । उनले चीनका ती कम्पनीले उत्पादन गरेका खोपको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनका विज्ञले काम गरिरहेका बताए । महानिर्देशक गेबरियसले भनेका छन्, ‘मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य सङ्गठनको विज्ञ समूहले काम गरिरहेको छ ।’ विश्व स्वास्थ्य सङ्गठनले विश्वका खोप उत्पादक कम्पनीलाई छिटो छिटो खोप उत्पादन गर्न र यससम्बन्धी तथ्याङ्क सङ्गठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ । 

मङ्गलबार थपिए ११५ जना कोरोना सङ्क्रमित 
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । चीनभित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका छन् । चीनले कोरोनाबाट निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७जना स्थानीयस्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । मंगलबार भेटिएका स्वदेशी सङ्क्रमितमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । – सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार