पानीको स्रोत जोगाउन जुट्यो काठमाडौं महानगर

शनिबार, असोज ९, २०७८

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ ।   कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरे । 
सोही क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको हो भने । 
“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट््यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे । 
महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइने बताए । जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट््याङ्क हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट््याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट््याङ्की बनाइनेछ । 
उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनी भन्छन्, “ट््याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ । यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।” यो प्रणाली करिब रु ११ लाख २० हजारमा निर्माण हुन लागेको हो । 
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको  जानकारी दिए । 

खानेपानी पुगेपछि गाउँले खुसी
जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रूपमा घोषणा गरिएको हो । 
युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९.३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२.५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ । उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी दिए । 
घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताए । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् । 
खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताए ।–रासस  

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार