पन्ध्र शैय्याको बागलुङ नगरअस्पताल शुभारम्भ

शुक्रबार, असोज ८, २०७८

गलकोट । बागलुङ नगरपालिकामा १५ शैय्याको नगरअस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरूप बागलुङ नगरपालिका–१३ पैंयुपाटामा नगरअस्पतालको आज बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गरे । 
नगरअस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरे पनि नेपाल सरकारले नगरअस्पताल स्वीकृत दिएको छ । पैंयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी बागलुङ नगरअस्पतालको रूपमा सेवा दिन थालिएको छ । नगरअस्पताललाई आवश्यक भवन निर्माण ठेक्का स्वीकृत भएर अगाडि बढेको र अहिले साविक स्वास्थ्यचौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । 
“जग्गा अपुग तथा अन्य स्थानसमेतमा नगरअस्पताल स्वीकृत भएकाले समस्या भएको थियो, संशोधनपश्चात् पैंयुपाटामै नगरअस्पताल स्थापना भएको छ”, नगरप्रमुख पौडेलले भने, “प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ, तत्कालै हामीले एक जना मेडिकल अधिकृत व्यवस्थापनका लागि रु १० विनियोजन गरेका छौँ, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच शैय्याका लागि केही स्वास्थ्य सामग्री प्रदान गरेको छ, आजदेखि अस्पतालले सेवा दिन थालेको छ ।”
नगरअस्पताल शुरु भए पनि सेवा दिँदै गर्ने र आवश्यकअनुसार नौ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण हुने गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा रामबहादुर केसीले बताए । उनले १५ शैय्याका लागि आवश्यक दरबन्दी छिट्टै पठाउने बताए । 
आइएमी गु्रपमा अध्यक्ष चन्द्र ढकालको रु १० लाख र अन्य स्थानीयको दिएको पाँच लाख गरी १५ लाख लागतमा जग्गा खरिद गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । 
“धेरै दुःख गरेर जग्गाको जोहो भएपछि अस्पतालले स्वीकृत पायो, अहिले स्वास्थ्यचौकीबाटै सेवा दिइने र अस्पताल निर्माण तत्कालै थालिने छ”, अध्यक्ष पौडेलले भने, “नगरपालिकाको निरन्तरको पहलमा ढिलै भए पनि अस्पताल शुरु भएको छ, जसले बलेवा क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै सहज हुनेछ ।” दैलोमै अस्पताल शुरु भएपछि खुशी लागेको स्थानीय पवित्रा कुमारी रोकाले बताइन् । 
अस्पताल निर्माणको लागि सरकारले रु १८ करोड बजेट बिनियोजन गरे पनि रु १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्य चौकीमा हालसम्म जनस्वास्थ्य निरीक्षकसहित आठ जनाले सेवा दिँदै आएका थिए । स्वास्थ्य चौकीका प्रमुख दुर्गाप्रशाद पौडेलका अनुसार आजदेखि अस्पतालले प्रदान गर्ने सेवा दिँदै जाने र जनशक्ति तथा उपकरण थपिँदै जानेछन् । नगरअस्पतालमा दुई दुई मेडिकल अधिकृतसहित २७ दरबन्दी स्वीकृत भएको छ । अस्पताल स्थापना भएसँगै १५ शैय्या, प्रयोगशाला, फर्मेसीलगयात अन्य सेवा थपिने छन् । 

एक करोडमा पीसीआर प्रयोगशाला 

कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ÷नौ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारसमेतमा समस्या प¥यो । 
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफँै पीसीआर प्रयोगशाला स्थापना गर्ने पहल ग¥यो । सोही बमोजिम लामो समयको प्रयासपछि व्यास नगरपालिकाले पीसीआर प्रयोगशाला स्थापना गर्न सफल भएको छ । 
सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाले व्यास–१० दुम्सीमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । पीसीआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रे्लियाले रु दुई÷दुई लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार १५६ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 
उनका अनुसार पीसीआर प्रयोगशाला स्थापनार्थ रु एक करोड सात लाख ७६ हजार प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार २६८ खर्च भएको छ । प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार ७०० मा पीसीआर मेसिन, रु दश लाख २० हजार ३९० मा जेनेरेटर, रु ५७ लाख सात हजार १७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप÷कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । 
पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरूपमा छिटोछरितो परीक्षण हुन्छ”, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबैको सहयोग र सहकार्यबाट पीसीआर प्रयोगशाला स्थापना गर्न सकिएको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गरे ।
सोही ठाउँमा नगरपालिकाले पाँच शैय्याको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ । कोभिड अस्पताललाई थप सुविधासम्पन्न बनाउने नगरप्रमुख न्यौपानेले बताए । 
उद्योग वाणिज्य सङ्घद्वारा तीन लाख हस्तान्तरण

पीसीआर प्रयोगशाला स्थापनार्थ तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार १५६ हस्तान्तरण गरेको छ । सङ्घले स्थापना गरेको कोभिड महाअभियान कोषमार्फत् उक्त रकमको चेक सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नगरप्रमुखलाई हस्तान्तरण गरे । महाअभियान कोषमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सोही कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह र स्वास्थ्य संस्थासमेतमा स्वास्थ्य सामग्री वितरण गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार