मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

बुधबार, पुस २९, २०७७

क्वालालमपुर । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताए । 
मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ । मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । गृह मन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उहाँ तेस्रो मन्त्री हुनुभएको छ । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित भएका छन् । 

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरूले उनीहरूको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ ।
एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो । सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा रहेका थिए ।  मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरूको सूचीमा परेको छ । दक्षिण अफ्रिकाबाट आएकाहरू बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरूले जनाएका छन् ।– एएनआई
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार