सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो । अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहे पनि भविष्यमा यसलाई अनुसन्धान केन्दका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिए । मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ । सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ । मुलुभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरणसम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले केन्द्रबाट अध्ययन र अनुसन्धान गर्न चाहनेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरे । त्यस्ता इच्छुकले दिएको निवेदन तहगतरुपमा स्वीकृति भएपछि अध्ययनअनुसन्धानका लागि उक्त निर्देशनालयले सहजीकरण गर्ने छ । केन्द्रमा राष्ट्रनिर्माता र एकीकरणबारे हालसम्मप्राप्त सम्पूर्ण सामग्री राखिएको बताइएको छ । केन्द्रको मुख्य प्रवेशद्वारले गोरखा दरबारको झझल्को दिनेछ भने मूलद्वारबाहिर पाटन र भक्तपुर दरबार सङ्ग्रहालयका ठूला तस्वीर प्रदर्शित छ । के छ केन्द्रमा
केन्द्रमा प्रवेश गर्नासाथ पूर्णकदको पृथ्वीनारायण शाहको चित्राकृति देखिन्छ । उक्त आकृतिसँगै एकीकरणको अभियानसँग जोडिएको किंवदन्तीअनुरुप त्यसबेलामा सम्पर्क रहेका गोरखनाथको आकृति र शाहवंशीय वंशवृक्ष राखिएको छ । केन्द्रमा कपडामा लेखिएको ५२ हातको हस्तलिखित जन्मकुण्डली (राष्ट्रनिर्माता) को छविचित्र प्रस्तुत गरिएको छ । पृथ्वीनारायणको राजगद्दीसँग मिल्ने गरी तत्कालीन सिंहासन राखिएको छ । युद्धमा जानुपूर्व त्यस बेलाका पण्डितद्वारा दिन र समय तोकेर निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तक पनि अनुसन्धानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुनेछ । एकीकरणका नायक पृथ्वीनारायणले छिमेकी र छिमेकी राजाले उहाँलाई लेखेका करीब २०० चिट्ठीको संँगालो पनि इतिहास जान्न चाहनेका लागि निकै महत्वपूर्ण खुराक हुने छ । तत्कालीन दिल्लीका बादशाहले पृथ्वीनारायणलाई उपाधि प्रदान गरिएको उर्दू भाषामा लेखिएको चिठी पनि ऐतिहासिक दस्तावेजका रुपमा रहेको छ । पृथ्वीनारायणको दिव्योपदेशलाई श्रव्यमा ढालिएको तथा उनको जीवनी समेटिएको वृत्तचित्र पनि त्यहाँ समेटिएको छ । केन्द्रमा पृथ्वीनारायणकालीन हातहतियार, गुप्त लौरो, भाँडाबर्तन र सैनिक पोशाक पनि अध्ययनकर्ताको जानकारीका लागि राखिएको छ ।
एकीकरण मार्ग पदयात्रा किन
सो अवसरमा सेनाले सञ्चालन गर्दै आएको एकीकरण मार्ग पदयात्रा संयोजन गर्दै आएका प्रमुख सेनानी अजय गुरुङले सविधानअनुरुप राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको जानकारी दिए । उक्त मार्गमा पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक र समृद्धिमा ठूलो योगदान पुग्ने विश्सास लिइएको छ । उनले भने, ‘२०७५ सालदेखि एकीकरण मार्ग पदयात्राको अवधारणा शुरु भएको हो । सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको एकीकृत कार्यक्रम भएकाले व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्य छ । यसमा प्रदेश सरकार, स्थानीय तह र सेनाको तलसम्मका एकाइलाई समेटेर एकीकृत अवधारणामा सञ्चालन गर्ने काम भइरहेको छ ।’ ऐतिहासिक गढी, किल्ला, यृद्धस्थल एवं पदमार्गको खोज, अनुसन्धान गरी इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । ऐतिहासिक तथ्यमा आधारित लडाइँसँग सम्बन्धित स्थानमा युद्ध सङ्ग्रहालय स्थापना गरी भावी पुस्तालाई जानकारी गराउने पदयात्रा कार्यक्रमको लक्ष्य छ । सेनाले प्रत्येक प्रदेशमा एकता बाटिका स्थापनाको काम अघि बढाइसकेको छ । एकीकरण स्मृति उद्यानबाट आधुनिक नेपाल निर्माणमा सबै भूगोल र जातजातिको उत्तिकै योगदान छ भन्ने सन्देश प्रवाह गर्नेछ ।