सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ट्रान्सफर्मर चोरी गर्ने धादिङ गल्छी गाउँपालिका–८ का ४३ वर्षीय नारायण थापालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका–११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । प्रहरीले थापाका साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, स्क्रु ड्राइभर एक थान, विभिन्न साइजको रेञ्ची ११ थान, कपडाको सल दुई थान, प्लाष्टिकको बोरा तीन थान, ट्रान्सफर्मर एक थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रबरको कालो रङ्गको फिता डोरी एक थान बरामद गरेको छ । पक्राउ परेका थापामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
औषधि पसलका सञ्चालक पक्राउ
अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आउनुभएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सुनारले अवैध लागुऔषध बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले रु एक लाख १६ हजार ८५० नगद, प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट, एन्टिटीसिभ ट्याब्लेट, एन्टीकोफ ट्याब्लेटलगायत विभिन्न कम्पनीका तीन हजार ४९० वटा लागुऔषध ट्याब्लेट र छ वटा मोबाइल बरामद गरेको पनि तुलसीपुर प्रहरी प्रमुख अर्यालले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।