कागबेनीमा श्रद्धालुको भीड

बुधबार, असोज ६, २०७८

गलेश्वर । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् । तीन वर्षअघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गरेकामा दुई वर्षयता कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनको सङ्ख्या पनि पातलिँदै गएको हो । मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए प्रवेशका लागि अनुमति दिने भएपछि रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएका व्यक्ति मुक्तिनाथ दर्शन तथा श्राद्ध गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन् । दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ । कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ धर्मावलम्बी आउने गरेका बताइन्छ । सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ । सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाबाट भक्तजन आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा)ले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा चहलपहल पनि बढेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज ६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज ६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज ६, २०७८