संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली
आइतबार, असोज ३, २०७८

काठमाडौँ । सातौं संविधान दिवसका अवसरमा विभिन्न दलका नेताहरुले शुभकामना दिँदै सफल कायान्वयनबाट मात्रै संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्ति हुने बताएका छन् ।
संविधान दिवसकै अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँँदै अध्यक्ष नेपाललेसंविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन् । अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ ।”
पूर्वप्रधानमन्त्री नेपालले  पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गरेका छन् ।
स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालले सन्देशमा उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ ः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् ।
सातौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन् ।
संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख गरेका छन् ।
उनले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको बताएका छन् ।
“राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ”, उनले सन्देशमा भनेका छन् ।
उनले पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिलाई पनि आफूहरूले संवैधानिक प्रबन्ध अनुरूपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेको उल्लेख गरेका  छन् । उनले संविधान जारी भएपछिको आम निर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश एमालेलाई प्राप्त गरेको उल्लेख गर्दै त्यतिवेला सङ्घीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको बताएका छन् ।
“पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रूपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्रका रूपमा व्याख्या ग¥यौँ”, उनले सन्देशमा भनेका छन्, “सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहित परिपूर्ण लोकतन्त्र परिकल्पना र कार्यक्रमको सार हो ।”

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार