संविधानको औपचारिक स्वागत नगरेको भारतले पठायो संविधान दिवसमा शुभकामना

आइतबार, असोज ३, २०७८

काठमाडौँ : नेपालको संविधानलाई औपचारिक स्वागत नगरेको भारतले सातौं संविधान दिवसमा भने नेपालका अधिकारीलाई शुभकामना सन्देश दिएर औपचारिकता निभाएको छ । भारतले संविधान जारी भए लगत्तै आफूले भने अनुसारको प्रावधान नराखेको भन्दै तीन महिना नाकाबन्दी गरेको थियो । सातौं संविधान दिवसका अवसमार भारतीय राष्ट्रपति रामनाथ कोविभन्द तथा प्रधानमन्त्री नरेन्द्र मोदीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाउँदै संविधानको सफल कार्यान्वयनको कामना गरेका छन् ।
संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन् ।
संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै मोदीले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।
अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहो¥याएका हुन् ।
ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।
प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधामन्त्री मोदीले सन्देशमा गरेका छन् ।

यसैगरी भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति विद्या भण्डारीलाई पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताएका छन् ।
सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा उनले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गरेका  छन् ।
भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर  प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री देउवालाई हालसम्म बङ्गलादेश, श्रीलङ्का, म्यान्मा र लाओसका प्रधानमन्त्री तथा बेलारुसका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार