पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्दै सडक विभाग 

सोमबार, पुस २७, २०७७

काठमाडौ । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्न लागिएको हो । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि एक करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।  थापाथली र जडीबुटीमा पहिले पनि बत्ती थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको थियो । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको हो । विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकामा पालिकाले राखेका बत्ती छन् । विभागले थप अरु छ÷सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ । चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्नेगरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट राम्रो प्रतिक्रिया आइरहेको विभागको भनाइ छ । 

बत्ती जडान अन्तिम चरणमा 

काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करीब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । करीब ८० स्थानमा उच्चमात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायत केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्तिसुरक्षा, सामाजिक सुरक्षालगायत सेवासुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्यमुख्य सडकमा करीब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको छ । महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । औपचारिकरुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६०  र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । कार्यपालिकाको शुक्रबार सम्पन्न ५५ औँ बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत मङ्सिर २५ गते कामपा, प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भइएसँगै कापपाले  प्रक्रिया अघि बढाएको जानकारी दिए । महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’ अन्तर्गत आधुनिक सडक बत्ती जडान अघि बढाइएको हो । पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हयात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब एक हजार ७५०  बत्ती जडान गर्ने तयारी भएको छ । यसका लागि पहिलो चरणमा करीब रु ११ करोड लागत हुनेछ । चालू आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ । सो क्रममा नयाँ खम्बा थप्नका लागि स्थानको स्वीकृति दिने तथा नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायत संरचनाको निर्माण गर्ने काम विभागले गर्नेछ । 
 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार