चीनमा ११९ कोरोना भाइरस संक्रमित भेटिएपछि एक करोड १० लाख मानिस लकडाउनमा

आइतबार, पुस २६, २०७७

सिजियाङ्हुङ । चीनको उत्तरी सहर सिजियाझुआङ्मा १२० जनामा कोरोनाभाइरस देखिएपछि एक करोड १० लाख मानिसलाई कडा लकडाउनमा राखिएको छ । त्यहाँका बासिन्दाहरूलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । विद्यालयहरू बन्द गरिएका छन् । सबै नागरिकलाई परीक्षण गर्न ५ हजार भन्दा बढी परीक्षण स्थलहरू खडा गरिएको छ । यो संक्रमण संख्या चीनमा पाँच महिनायता सबैभन्दा बढी हो । उक्त सहर रहेको हेवेई प्रान्तमा गत बिहीबार १२० जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ११९ जना सो सहरका थिए । चीनमा बिहीवार अन्यत्र जम्मा २२ जनामा संक्रमण पुष्टि भएको थियो । लकडाउन चिनियाँ नयाँ वर्षको केही साताअघि भएको छ । नयाँ वर्षको छुट्टीको समयमा चिनियाँहरू घुम्न निस्कने गर्छन् । धेरै संक्रमित भेटिएको गाओचेङ्  क्षेत्रका मानिसहरूलाई स्थानीय बजारबाहेक अन्यत्र जान र अन्य सहरबासीलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । सिजियाझुआङ्का पाँच अस्पताललाई कोभिड–१९ को उपचारका लागि खाली गरिएको र अन्य तीनलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

अस्ट्रेलियाको ब्रिसबेनमा पनि लकडाउन
अस्ट्रेलियाको सहर ब्रिसबेनमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ । क्वारन्टीनस्थल रहेको होटलको एकजना सरसफाइ कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनलाई अत्यधिक संक्रामक नयाँ प्रकारको भाइरस संक्रमण भएको बताइएको छ । अस्ट्रेलियामा क्वारन्टीनस्थल बाहिर नयाँ प्रकारको भाइरसको संक्रमण भेटिएको यो पहिलो पटक हो ।–बीबीसी 
 

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार