सोसल मिडिया
Contact Us
युनिकोड
एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ करोड असुल्न माग
विप्लवले एनसेल एक्लैले ७२ अर्ब अपचलन गरेको भन्दै यसमा दलहरू नबोलेकोमा आपत्ति जनाए । ‘देश बनाउन एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ करोड असुल्नुपर्यो । ६२ अर्ब झार्नुको सट्टा अमेरिका ५० करोड डलर ल्याएर कमिसन खाने ? यस्ता दलालाई लखेट्नुपर्छ,’ उनले भने । उनले विकासका लागि नेपालमा पैसाको कमी नभएको पनि बताए । ‘अहिलेसम्म कति विदेशी अनुदान आयो कसले खायो रेकर्ड छ ? सरकारलाई कमिसन खाने चक्कर छ । पैसाको कमी नेपालमा होइन । संसदीय कोषको पैसा कटाएर विकास गर्ने हो भने पनि पुग्छ,’ उनले भने, ‘तर कमिसन खानु छ, विदेशीको पाउ मोल्नु छ, त्यस्तै परे परिवारै भाग्नुछ भन्ने सोंच भएकाले मरिहत्ते गरिरहेका छन् ।’
एमसीसी आयो भने राँको बल्छ
विप्लवले जबर्जस्ती एमसीसी लादिए प्रतिरोध गर्ने चेतावनी दिए । ‘एमसीसी आयो भने के गर्ने आज त संकेत मात्रै गरेका छौं । यो झिल्को मात्रै हो । केही पैसाको लोभमा जनताको टाउकोमा थोपर्न खोजियो भने झिल्को राँको बन्छ,’ उनले भने, ‘आज काठमाडौंमा झिल्को बालेर हिँडेका छौं । जबर्जस्ती लाद्न खोजियो भने तराईदेखि हिमालसम्म एकढिक्का हुनेछ ।’ एमसीसी सम्झौताका कारण नेपालीले उपनिवेश भएर बस्नुपर्ने अवस्था आउन सक्ने विप्लवको भनाइ थियो । ‘दलाल, साम्राज्यवादीहरू हाम्रो देश नियन्त्रण गर्न कब्जा गर्न आइरहेको छ । शेरबहादुर देउवा, गठबन्धन र एमाले नेताका कारणले भारतीयहरू ब्रिटिस साम्राज्यवादबाट १९० वर्ष उपनिवेशन बसेजस्तै नेपालीहरू पनि बस्न नपरोस् । त्यसका लागि एकजुट भएर पार्टीभन्दा माथि उठेर लड्नुपर्छ,’ उनले भने । विप्लवले सेना, प्रहरी, पत्रकार सबैमाथि अहिले स्वाभिमानी प्रश्न उठेको पनि बताए । ‘तपाईले देश रोज्नुहुन्छ कि एमसीसी ? जनता रोज्नुहहुन्छ कि अमेरिकी गुलामी ? पैसा रोज्नुहुन्छ कि स्वाभिमान ?’ उनले प्रश्न गरे, ‘हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन तयार छ ।’ विप्लवले आफूहरूमाथिको प्रतिबन्ध फुकुवा गर्दा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए । ‘कार्यकर्ता छोड्छौं भन्यो । तर राज्यले आलटाल गरिरहेको छ । सहमतिअनुसार छोड्नुपर्छ । इमान्दारीपूर्वक छोड्नुपर्छ । सहमतिलाई हुबहु लागू गर्नुपर्छ,’ उनले भने ।