कोरोनाबाट लेबनानमा १० चिकित्सकको मृत्यु

१५ जना आइसियुमा
शनिबार, पुस २५, २०७७

बेरुत । कोरोना भाइरसबाट लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमितमध्ये १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् । झण्डै २०० जना क्वारेन्टीनमा छन् । मृत्यु भएकामध्ये सवैभन्दा पछि शुक्रबार लेबनानको चिकित्सा सम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबौ चाराफको मृत्यु भएको छ । ‘महामारीले नराम्ररी सताउने छ, आम नागरिक सवै अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ’, अबौ चाराफले भनेका थिए । निधन हुनु अघि उनी क्रिसमस र नयाँ बर्ष मनाउने एउटा सार्वजनिक समारोहमा सहभागी भएका थिए । पर्याप्त ख्याल नगरेकाले उनी सङ्क्रमित भएको बताइएको छ । लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो समय थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको छ ।

एक करोड भारतीयमा कोरोना संक्रमण 
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५७० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २५ हजार ४४९ सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ४८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ९३ लाख ३६  को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो  बिहीबार एक दिनमा नौ लाख ३५ हजार ३६९ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ ।–सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार