अमेरिकी राष्ट्रपति निर्वाचन  डोनल्ड ट्रम्पद्वारा ‘व्यवस्थित ढङ्गले’ सत्ता हस्तान्तरणको वाचा

शुक्रबार, पुस २४, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘व्यवस्थित ढङ्गले’ शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन् ।
उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यस्तो वाचा गरेका हुन् । 
ट्वीटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै ‘जघन्य हमला’ बताएका थिए । आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्रयाटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन् । उनको अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ । नोभेम्बरमा उनले राष्ट्रपति–निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए । उनले लेखेका थिए, ‘चुनावमा धाँधली भएका कारण उनले जिते ।’

ट्रम्पले के भने ?
भिडिओ सन्देशमा ट्रम्पले ‘कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० जनवरीमा नयाँ प्रशासनले काम थाल्ने’ बताएका छन् ।
‘मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ । यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ’, उनले भनेका छन् । उनले आफ्ना ‘गज्जबका समर्थकहरू’को समेत प्रशंसा गरेका छन् । उनले ‘हाम्रो अविश्वसनीय यात्रा एउटा सुरुवात मात्र भएको’ बताएका छन् ।छोटो उक्त भिडिओ फूटेजमा ट्रम्पले बुधवारको दङ्गा उक्साउने गरी यसअघिका चुनावी धाँधली सम्बन्धी आफ्ना आधारहीन दाबीका बिषय उल्लेख गरेनन् ।

पृष्ठभूमि
अमेरिकी कङ्ग्रेसका वरिष्ठ डेमोक्रयाटिक नेताहरूले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५औँ संशोधन लागु गर्न आह्वान गरेका छन् । उक्त संशोधनमा राष्ट्रपतिलाई काम गर्न असक्षम भन्दै हटाउन सक्ने व्यवस्था छ ।

अमेरिका संसद्मा हङ्गामा
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यदि त्यसो नभए उनले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउनसक्ने बताइन् ।
सिनेटमा डेमोक्रयाटिक नेता चक सुमरले अवस्था ‘माथिल्लो स्तरको सङ्कट’ भएको बताए ।

बाइडनले गरे आलोचना
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले बुधबार क्यापिटल हिलमा भएको विद्रोहका लागि ट्रम्पलाई जिम्मेवार ठह¥याउँदै उनीमाथि शाब्दिक हमला गरेका छन् । उनले बुधवार अमेरिकी इतिहासकै अध्यारो दिन भएको बताउँदै राष्ट्रपति ट्रम्पले ‘गएका चार वर्ष प्रजातन्त्र र कानुनी शासनको मानमर्दन गर्नमा बिताएको’ आरोप पनि लगाए । उप–राष्ट्रपति माइक पेन्ससहित केही नेतृत्वदायी रिपब्लिकनहरू ट्रम्पबाट टाढिएका बेला बाइडनको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकी संसद्मा घाइते प्रहरीको मृत्यु
अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । 
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो । क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।– एएफपी
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार