विवादका बीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

शुक्रबार, भदौ २५, २०७८

डडेल्धुरा :  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन सुरु भएकाे छ ।जिल्ला कार्यसमितिले बहिस्कारकाे निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२  वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएकाे अधिवेशनमा आफूहरुकाे सहभागिता नहुने न्युज कारखानालाई बताए । सभापति देउवा पक्षधरले एकलाैटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मकाे टुंगाे केन्द्रबाटै लगाएकाे मल्लकाे आराेप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन् । यो हामीलाई अमान्य छ,’ उनले भने।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि  निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेकाे आराेप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो । नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार