पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने

पाटन दरबार सङ्ग्रहालय खुल्यो 
बिहीबार, भदौ २४, २०७८

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ । कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ । शुक्रबारदेखि मन्दिर खोल्न आज सुरक्षा समितिको बैठक बसी तयारी गरिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए । 
विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ ।

पाटन दरबार सङ्ग्रहालय खुल्यो 
पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, ‘आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो ।’ महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए । 
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी आजदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरू अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।
यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णोद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए । 
पाटन दरबार सङ्ग्रहालय क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । सङ्ग्रहालय रहेको पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वरमा मेला आदि मनाइन्छ । सङ्ग्रहालयसँगै दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिरसमेत रहेका छन् । सो सङ्ग्रहालय धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरको रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ । सङ्ग्रहालय रहेको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गर्छन् । पाटन सङ्ग्रहालय नेपालको जेठो नगरपालिका ललितपुर महानगरपालिकामा पर्दछ ।–रासस

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ २४, २०७८