संखुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा गरियो 

बुधबार, भदौ २३, २०७८

 

संखुवासभा : संखुवासभाको मादी नगरपालिका- १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए । भतिज एमविक्रमका अनुसार बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको बताए । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए । मादी नगरपालिका- १ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

सिंगो गाउँ नै शोकमा, प्रहरीले अझै पाएन 'क्लू'

परिवारै सखाप बनाएको घटनाले मादी-१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीले बताए । उनीमात्रै होइन सिंगो खोलागाउँ त्रसित छ । घटना भएको तीन दिन वित्दा पनि हत्या प्रकरण रहस्यमै छ । स्थानीयका अनुसार हत्यामा संलग्नलाई तालिम प्राप्त कुकुरलेसमेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको छ । प्रहरीले घटनाका बारेमा कुनै नयाँ संकेत फेला पारेको छैन ।

सीआईबी टोली घटनास्थलमै

रहस्यमयी घटनाको अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोलीले अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन । अपराध अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको एसपी भीम दाहाल नेतृत्वको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन सकेको छैन ।

धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । प्रहरी र स्थानीयको जानकारीअनुसार तेज बहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

घटना राति भयो कि बिहान अझै अन्योल

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अझै अन्योल छ । एकमात्र जीवित बौद्धमानकाअनुसार सपरिवार बेलुका ६/७ बजेतिर खाना खाएर सुतेको थियो । घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन । यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता लगाएको नहुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? यो प्रश्नमा प्रहरी अनुसन्धान घुमेको छ ।

हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएअनुसार धारिलो हतियार प्रयोग गरि हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको प्रहरीको भनाइ छ । उनीहरुको शव घोप्टीएको अवस्थामा रहेको थियो ।

पार्वतीको शव आँगनबाट ओछ्यानमा

जीवित रहेका बौद्धमान आफूलाई घटनाको विषयमा कुनै जानकारी नभएको बताउँछन् । उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहिर गई को कता गएछन् भनेर खोजी गरे । तर कोही पत्ता नलागेपछि उनी पुन: आफू सुतेकै ओछ्यानमा फर्किएका थिए । जुनबेला करिब ८ बजिसकेको थियो । ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे । तर उनी उठिनन् । बौदमानले भनेअनुसार पार्वतीलाई मुर्छा पर्ने पुरानै रोग थियो । निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको निधन भइसकेको अनुमान गरे । निकैबेरपछि होशमा आउने गरे पनि सोमबार बिहान भने उनी कहिल्यै नउठ्ने गरी गइन् । घटनामा वर्ष ५८ का तेजबहादुर कार्की आमा ८४ बर्षीय पार्वती, ५२ बर्षीया श्रीमती कमला, ३२ बर्षीया बुहारी रञ्जना, ११ बर्षीय नाति दिपेन र ७ बर्षीया नातिनी गोमाको मृत्यु भएको थियो । उनका ८५ वर्षीय बुवा बौदमान कार्की भने सकुशल रहेका छन् । १० जनाको परिवार रहेको कार्कीको जेठो छोरो रमेश मलेसिया र कान्छो छोरो नरेश दुबई वैदेशिक रोजगारीमा छन् । कान्छी बुहारी तारा झापाको दमकमा बस्दै आएकी छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, भदौ २३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, भदौ २३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, भदौ २३, २०७८