‘एमसीसी संशोधनको कुरा जनता झुक्याउने खेल हो’

बुधबार, भदौ २३, २०७८

इलाम : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको तस्तै पास गर्न नहुने र त्यसलाई नेपालको हित अनुकूल बनाउन संशोधनको चर्चा चलिरहेको बेला नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने संशोधनको कुरा जनता झुक्याउने खेल भएको बताएको छ ।  एमसीसीको विरोधमा बुधबार इलामको चोक बजारमा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव मौसम राईले जनता झुक्याउनकै लागि संशोधनको चर्चा गरिएको बताए । ‘एमसीसी इण्डो प्यासेफिक रणनीतिको एउटा पार्ट हो,' उनले भने,‘यो कुनै पनि हालतमा नेपालको हित अनुकूल हुनै सक्दैन, नेपालको असंलग्न परराष्ट्र नीतिको पनि प्रतिकूल छ ।’ एमसीसी पास भएमा नेपाल विदेशी विस्तारवादी शक्रिको क्रिडास्थल बन्ने राईको तर्क छ । संसदको बुधबारदेखि शुरु भएको अधिवेशनमा एमसीसी पारित गर्ने खेल भइरहेको भन्दै बलिदान गरेर भए पनि एमसीसी पारित हुन नदिने नेताहरु बताउँछन् । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भूमि ढङ्गानाले कमिसनको खेलमा जस्केलाबाट एमसीसी पारित गराउने षडयन्त्र भइरहेको आरोप लगाए । चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पाटी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएको छ । जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्ने, एमसीसीको डकुमेन्ट जलाउने, सिठी जुलुसलगायतका विरोध कार्यक्रम छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार