संसदमा सिट : एकीकृत समाजवादी सत्ता र लोसपा प्रतिपक्षको कुर्सीमा

बुधबार, भदौ २३, २०७८

काठमाडौं : राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । दुबै सदनको अधिवेशन आज अपराह्नबाट सुरु हुँदैछ । एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ । संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘एकीकृत समाजवादीले सत्तापक्षमा र लोसपाले प्रतिपक्षको कुर्सीमा बस्ने भनेर माग सचिवालयमा जानकारी गराउनु भएको थियो,’ प्रवक्ता पाण्डेले न्युज कारखानासँग भने, ‘सोही बमोजिम एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं ।’  लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार