सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : शिक्षा मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको बताएका छन् ।
५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार गोरखापत्रमार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले गुणस्तरीय, रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरेका छन् ।
उनका अनुसार मुलुकमा कोभिड-१९ को महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि बढिरहेको छ । निरन्तर शिक्षालाई संस्थागत गर्दै आगामी दिनमा बाँकी (२३ जिल्ला)को साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित हुन उनले उल्लेख गरेका छन् ।
काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी
नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन् । नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । हालै मात्र काठमाडौं महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो ।
साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन् प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन । जबकि काठमाडाैं देशमै सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला मात्र हाेइन मुलुककै राजधानी पनि हाे । नेपालकाे पहिलाे महानगरपालिका काठमाडाैं पनि गत साता मात्र साक्षर घाेषणा भएकाे थियाे । यसैगरी, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् । लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।-न्युज कारखाना