अफगानिस्तानमा तालिबानद्वारा अन्तरिम सरकार घोषणा

सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने 
मंगलबार, भदौ २२, २०७८

काबुल । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । उक्त समूहका मुख्य प्रवक्ता जबिहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत दिएको हो । अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरु भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो । बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो । उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन भएका छन् ।

सयौँ बालबालिकाको राष्ट्रसङ्घद्वारा उद्धार

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्तव्यस्तबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बाबुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिका दर्ता भएका थिए । 
युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बक्तव्यमा भनेका छन्, ‘हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौँ । अझै धेरै बालबालिकाले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो सङ्ख्या थप बढ्नसक्ने छ । उनीहरूको पहिचान तथा छानबिन गर्ने प्रयास जारी छ ।’  युनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौँ मानिसहरू काबुल विमानस्थलमा ओइरिँदै गर्दा धेरै केटाकेटी आफ्नो परिवारबाट अलग्गिएका थिए ।
अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजारभन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिसनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरूसहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, युरोपलगायतका केही एसियाली मुलुकमा शरण दिइएको छ । जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकालाई उद्धार गरिएको युनिसेफले बताएको हो ।
फोरले भने, ‘विमानस्थलमा सङ्कट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटी कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु ।’ छुट्टिएका बालबालिका ‘संसारका सबैभन्दा कमजोर केटाकेटीमध्ये’ भएका उनले औँल्याए ।  “पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरूलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,” उनले जोड दिए । उनले भने, ‘सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुव्र्ययवहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ ।’
युनिसेफले हाल उद्धार गरिएका बालबालिकाको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ ।–रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार