कलङ्की–नागढुङ्गा क्षेत्रका ‘होर्डिङ बोर्ड’ हटाउँदै चन्द्रागिरि नगरपालिका 

बुधबार, पुस २२, २०७७

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । नरपालिकाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए । ‘नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरुपमा राखिएका ब्यानर सात दिनभित्र नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ’, नगरप्रमुख गिरीले भने । 
नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नपाले यसअघि उक्त राजमार्ग क्षेत्रमा रु एक करोडको लागतमा  ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ । यस्तै आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताए ।  सो नगरपालिका वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । पन्ध्र वडामध्ये कलङ्की–नागढुङ्गा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  २२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार