ओलीको प्रश्न : 'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?'

सोमबार, भदौ २१, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् । उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए । 'सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो ? कि गठबन्धनको मतियार हो ? कि एमालेविरुद्ध काम गर्ने मोहरा हो ? के हो तपाईं ?', ओलीले प्रश्न गरे । प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको र त्यही भएर सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो । ओलीले फेरि प्रश्न गरे, 'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?' उनले पुनर्स्थापनापछि संसद सुरु हुँदा यो अधिनायकको पराजय हो भनेर सभामुखबाट राजनीतिक लान्छना लगाएको भन्दै असन्तुष्टि जनाए । 'कुनै मूल्य, नैतिकता छैन । कस्तो मान्छे सभामुख भएछ ? यत्रो व्यवस्था लडिएर ल्याएछ । हेर्नुस् त कस्ताकस्ता मान्छे छन् टुप्पोमा ? यो परिस्थितिमा परिवर्तन ल्याउन युवाले भूमिका खेल्नुपर्छ', उनले भने ।-न्युज कारखाना

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार