सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराए । पार्टीमा अब युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै उनले एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए । युवा नेता गुरुङले भने, ‘अहिले कांग्रेसमा महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन्, यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?’ नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहेका उनले आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज पहँुचयोग्य बनाउने दृढता व्यक्त गरे । उम्मेदवारी घोषणालाई कुनै पनि नेताले सौदाबाजीको साधन बनाउन नहुने धारणा व्यक्त गर्दै उनले आफू जुन पदमा घोषणा गरे त्यही पदमा मात्र उम्मेदवारी दिने विश्वास दिलाए । पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको नेता कार्यकर्ताको आफूलाई सहयोग हुने उहाँको अपेक्षा थियो ।
कारबाही फुकुवाका लागि ध्यानाकर्षण
यता, नेपाली कांगे्रस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले जिल्ला सभापतिलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो । तरुण दल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो । विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो । उनीसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ । विसं २०७६ चैत १३ गते कांग्रेस चितवनको बैठकको निर्णयले कोइरालाको क्रियाशील सदस्यता नवीकरणका लागि सिफारिस गरेको भए पनि कुनै निर्णय नआउँदा आफूहरू गम्भीर भएको तरुणदलले जनाएको छ । कोइराला विसं २०६७ को १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित बनेसँगै विभिन्न कारणले जिल्लाको विशेष अधिवेशनबाट उनलाई सभापतिबाट हटाइएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोइरालाको कारबाही फुकुवा भएर क्रियाशील सदस्या नआएसम्म जिल्लाको अधिवेशन गर्न नदिइने चेतावनी दिएको छ । दलको ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला सभापति श्रेष्ठले आफूहरूले केन्द्रमा कारबाही फुकुवाका लागि पत्राचार गरेको बताए । विधानत कारबाही फुकुवा नहुँदा कांग्रेस चितवनसमेत अचम्मित भएको भन्दै उनले यसबारे जिल्ला समितिको बैठकमा छलफल गर्ने र पुनः आग्रह गरेको बताए । समितिको आजको बैठकले पार्टीको वडा अधिवेशन यही भदौ २१ गते गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिए ।