म्याग्दीका खोमराज शर्मा विश्व ‘ब्लाइन्ड आइडल’

बुधबार, भदौ १६, २०७८

बेनी ।  म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पार्न सफल भएका हुन् ।  विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिष्पर्धामा नेपालबाट नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत रहेका शर्माले आवेदनमार्फत मनोनयनको छनोटमा पर्नुभएको थियो । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोषित भएको आज आयोजक संस्थाकोतर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।  सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।  प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डलगायत देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार २७१ भोट प्राप्त गरेका थिए । 
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन इमेलमार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनका क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए । 
आफू दृष्टिविहीन भए पनि २०५६ सालदेखि नेपाल नेत्रहीन सङ्घका बाग्लुङ, इलाम र कास्की शाखा र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएको छ ।
शर्माले कास्की नेत्रहीन सङ्घमार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सूचना प्रविधि तालिम, नेत्रहीन सङ्घद्वारा अगाडि बढाइएका विभिन्न अभियानमा नेतृत्वदायी भूमिकामा क्रियाशील हुँदै आएका छन् । शर्मा हाल अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन सङ्घको उपाध्यक्षसमेत हुन् ।–रासस

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, भदौ १६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, भदौ १६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, भदौ १६, २०७८