सुदूरपश्चिम प्रदेशसभाका १० सदस्य नेकपा (एकीकृति समाजवादी) मा  खुले 

मंगलबार, भदौ १५, २०७८

सुदूरपश्चिम ।  नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी)  पार्टीको पक्षमा सनाखत गराएका छन् । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले एमालेबाट निर्वाचित १० प्रदेशसभा सदस्यले आज कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)  पार्टीको पक्षमा सनाखत गराएको जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक  विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्टले सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । 
यसैगरी प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र कञ्चनपुर एमालेका अध्यक्ष एवं प्रदेशसभा सदस्य तारा लामा तामाङको आज कागजात नपुगेकाले उनीहरुले भोलि सनाखत गराएमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
“कुनै पनि पार्टी विचार, नीति, सिद्धान्तले चल्छ”, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री जोशीले भनिन्, “कम्युनिष्ट आन्दोलन जोगाउन हामीले नयाँ पार्टी खडा गर्नुपरेको हो ।” आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुन् । प्रदेशसभामा विभिन्न दलबाट निर्वाचित ५२ सदस्य रहेका छन् ।
प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र साविक राष्ट्रिय जनता पार्टीका दुई सदस्य रहेका छन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार