सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो । विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ । विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । पहिलो विस्फोटनपछि पनि दर्जनौँ विमानहरुले हजारौँ मानिसलाई काबुल विमास्थलबाट उद्धार गरेर अन्यत्र लगेका छन् । अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन् । अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन् । अमेरिका र बेलायती अधिकारीहरुले पहिलो विस्फोटन हुनु अगाडि पनि विस्फोटन हुनसक्ने आशङ्का गरेका थिए भने आइतबारको विस्फोटन हुनु अगाडि पनि दोस्रो विस्फोटन हुनसक्ने चेतावनी दिएका थिए ।
तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो । तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् । यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ । शनिबारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअे अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् । यसैबीच, शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउमा अवरोध खडा गरेका छन् । ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाई गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए । विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्तान्तमा अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आइएस) लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो ।
–सिन्ह्वा/एएनआई