सरकारमा जान बाटो हेर्दै लोकतान्त्रिक समाजवादी 

नेताहरु भन्छन्, ‘वातावरण बने सरकारसँग सहकार्य गछौं’  
शनिबार, भदौ १२, २०७८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताए ।  अध्यक्ष ठाकुरले पार्टी दर्ता नै भर्खर भएकाले सरकारमा सहभागीताका विषयमा छलफलपछि निर्णय गरिने प्रष्ट पारे । उनले भने, ‘पार्टी भर्खर दर्ता भएको छ । सरकारले बोलाएर सोध्छ, अनि कुरा राख्छौँ, त्यसपछि सरकारमा जाने या नजाने कुरा आउछ ।’ लोसपाका कार्यकारिणी सदस्य केशव झाले अध्यक्ष ठाकुरको भनाइ उद्धृत गर्दै माग सम्बोधन हुने अवस्था भए र प्रधानमन्त्री देउवाले सरकारमा सहभागिताका लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर निर्णय गरिने बताए ।  चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले आफूहरू सत्तारुढ गठबन्धनमा नभएकाले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरिने धारणा राखे । निर्वाचन आयोगबाट यही बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीले औपचारिकरूपमा कार्यालय शुरु गरेको हो । पार्टी कार्यालय उद्घाटन तथा झण्डोत्तोलनमा लोसपाका अध्यक्षसहित वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति  थियो । यसअघि उक्त कार्यालय राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) स्थापनाताका सञ्चालनमा थियो ।  यसैबीच बदलिदो परिस्थितिमा समसामयिक विषयमा पार्टीको धारणा बनाउन लोेसपाको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

‘वर्तमान सरकारले नै निर्वाचन गराउने’
यता, जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् ।  धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए । संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरूको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए । ‘हामी कसैको प्रभावमा पर्नु हुँदैन’, उनले भने, ‘आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।’ उनले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताएका छन् ।  डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
 
‘असंवैधानिक कदमका मतियारको उद्धार भयो’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् । समाजवादी पार्टीले जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताए । उनले भने, ‘जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरू आफैँ बाहिरिन पुगेका हुन् ।’ यादवले आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याको अधारमा समानुपातिक समावेसी, समाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार