सुरुङमार्गको कारण नागढुङ्गाको सडकमा पहिरो

शुक्रबार, भदौ ११, २०७८

काठमाडौँ । नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ । माथिबाट सर्किदै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ । तल्लो तहबाट फलामे बारमार्फत पहिरो रोक्ने असफल प्रयास भएको देखिन्छ । नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा पर्ने खत्री पौवा राजधानी काठमाडौँबाट नजिकै छ । काठमाडौँबाट ओरालो झर्दा दायाँपट्टि सुरुमार्ग र बायाँपट्टि रातमाटे डाँडा छ । बाटो मोडिँदै गर्दाको पहाड भास्सिकेको छ । केही अघि त्यहाँ पहिरो खस्दा दुई दिन सडक नै अवरुद्ध भयो । अहिलेसम्म भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएको छैन, तर बेलैमा ध्यान नदिए ठूलै क्षति बेहोर्नुपर्ने अवस्थामा रहेको भूर्गभविद्को प्रतिक्रिया छ । भस्किएको पहाडमा केही कच्ची र केही ठूला पक्की घर परेको छ । केही घर उच्च जोखिमा छ । रातोमाटोमा गेगर मिसिएको जस्तो थुप्रो बेलाबेलामा ह्वारह्वार खसेर सडकमा आइपुग्छ, उक्त सडक प्रयोग गर्ने चालक र यात्रु अहिले डराइडराइ यात्रा गर्न बाध्य छन् । “कतिबेला माथिबाट खसेर पुर्ने हो, थाहै हुन्न”, एक यात्रुले प्रतिक्रिया दिए । व्यस्त सडकमा पहिरोको जोखिम हुँदा र सडकमा पहिरोले असर गरेकाले सहज सवारी आवागमन नहुँदा दैनिक लामो जामको सामना गर्नुपरिरहेको छ । मुख्य राजमार्गमा अहिले पहिराको धराप थापेजस्तै छ । कतिखेर खसेर सडकमा गुडिरहेका सवारीमा पर्ने हो भन्ने कुनै पत्तो छैन । ठूलो भेल पहिरो गयो भने त्यसले तल्लो तटीय क्षेत्रमा समेत ठूलै असर गर्ने देखिएको छ । कयौँ यात्रुको ज्यान लिने सम्भावना उत्तिकै छ । पहाडका चिरामा प्लाष्टिकले छोप्ने कामबाहेक अरु उपाय अपनाइएको देखिँदैन । 
त्यस ठाउँको खोला ठूलो छैन तर पहिरोसँगै बर्खे भेलको पानी मिसिँदा लेदोसहितको भेलबाढीले तल्लो क्षेत्रमा ठूलै असर गर्ने देखिएको छ । त्यतिमात्र हैन निर्माणाधीन सुरुङ मार्गबाट निकालिएका माटो, गिट्टीलगायतका थुप्रो पनि त्यही खोलामै मिल्काइएको छ । जसले जोखिम थप बढाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार