सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यो विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताएका थिए । हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पु¥याउने उनले उल्लेख गरेका थिए । यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो । साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका थिए । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगष्ट ३१ सम्म सक्ने बताएका छन् । अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उनले बुधबार पनि दोहो¥याएका थिए । यहाँ उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ । आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन् । काबुल विमानस्थलमा अहिले पनि भीडभाड रहेको छ । मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लागेको हो । तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छोड्न चाहेका छन् । अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि दश हजार मानिस रहेका बुधबार बताइएको छ ।
अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन् । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन् । यदि विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन उनीहरुले बुधबार सूचना जारी गरेका छन् । सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको छ । अमेरिका र बेलायतले नै बुधवार सो सूचना जारी गरेको समाचारमा जनाइएको छ । अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन् । आफ्नो देश फर्किनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन् । तालिबानले काबुल नियन्त्रणमा लिएपछि यो विमानस्थलबाट ८० हजारभन्दा बढी मानिसलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ । उता अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरु देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन् । विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको छ । विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको छ । उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि अफगानिस्तानकै स्थानीय इस्लामिक स्टेटका कारण उक्त विमानस्थलमा सुरक्षा खतरा रहेको बताएका थिए ।– रासस÷सिन्हवा