काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

बिहीबार, भदौ १०, २०७८

काठमाडौँ ।  क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।  काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग राखेर बुधबारदेखि सुरु भएको अनशन आज पनि जारी रहेको हो । पार्टीका संस्थापन इतरपक्षका जिल्ला सभापतिले सो माग गर्नुभएको हो । अनशनमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेतका कमलराज रेग्मी, डोल्पाका अगदकुमार बुढा, नेविसङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य बसेका छन् । 
सोमबार राति काँग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ अन्तिम रुप दिइएको थियो । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा.मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको थियो ।
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असोज ५ गते हुनेछ ।
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको छ । 

चाँडो क्रियाशील सदस्यता सार्वजनिक

यसैबीच राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सहमतिमा काँग्रेसको अधिवेशन हुनुपर्ने बताएका छन् ।  कार्यक्रममा काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने बताए । “हामीले महाधिवेशन भाँड्न खोजेका होइनौँ, तत्काल क्रियाशील सदस्यताको नाम सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्छ”, उनले भने ।  काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको कुरालाई झिकेर बखेडा झिक्न नहुने बताए । उनले अनशनभन्दा पनि महाधिवेशन अहिलेको प्राथमिकता भएको बताए ।  
काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले मतदाता नामावली प्रकाशन गरेरमात्र अधिवेशनमा जानुपर्ने बताए । उनले जिल्लाबाट विधिसम्मत ढङ्गले आएका क्रियाशील सदस्यतालाई मान्यता दिएर अधिवेशनमा जानुपर्ने धारणा राखे । काँग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशील सदस्यतालाई सार्वजनिक नगरेकाले आफूहरु बाध्य भएर रिले अनशनमा बस्नुपरेको बताए । छिटोभन्दा छिटो क्रियाशील सदस्यतालाई सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार