जुम्लाका चार किशोर चालिस दिनदेखि सम्पर्कविहीन

बिहीबार, भदौ १०, २०७८

कर्णाली ।  गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए । “यहाँका प्रायः नागरिक मजदूरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्”, राजुले भने, “त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क ग¥र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो ।” गाउँलेहरुले उनीहरु कालापहाड गएको हुनसक्ने आशङ्का गरेको उनले बताए । 
तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे । “साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन् । घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो”, गोविन्दले भने, “तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।” उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकलाई चिन्तित बनाएको छ ।  अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकाले उहाँले सञ्चारमाध्यमबाट खोजिदिन आग्रह गरे । राजु रावतका अनुसार सम्पर्कविहीन चारै जना किशोर सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन ।   जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले यस विषयमा आज मात्र सामान्य जानकारी आएकाले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताए । प्रजिअ प्रसाईंले कालापहाड गएको भन्ने आशङ्का गरिएकाले यसबारे सबै तहका सरकारले चासो दिनुपर्ने जनाए ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफू कहाँ त्यसबारे कुनै जानकारी नआएको बताए । प्रहरी नायब उपरीक्षक थापाले किशोरको उमेर १६÷१७ वर्ष पुगिसकेकाले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गर्नुभयो । यद्यपि ती चारै जना किशोर ४० दिनदेखि अभिभावकको सम्पर्कमा छैनन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ १०, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ १०, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ १०, २०७८