सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ । नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उपचारमा संलग्न चिकित्सकले उनलाई स्ट्रोक भएको बताएको थिए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ । विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँडे । उनी त्यतिबेला कोशी प्रान्तीय परिषद्मा सङ्गठित हुनुहुन्थ्यो । पञ्चायतकालका आफ्ना अधिकारको कुरा गर्नु नै अपराधजस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला ? उनले सुनाए । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उनले सुनाए । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई हेक्का छैन । सुनसरीको धरानका स्थायी बासिन्दा रहेका टुहरेलाई नेकपा (माओवादी केन्द्र) ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उहाँले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्थे । उनको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ । त्यसपछि उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ । टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व हुन् । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए । टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरुद्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रहि उल्लेखनीय योगदान पु¥याएका थिए । टुहुरे विसं २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० मा तत्कालीन माओवादीबाट संविधानसभाको सदस्य बनेका थिए । त्यसबखत उहाँले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । त्यसयता टुहुरे लगातार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।