नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवैलाई आयोगद्वारा दलको मान्यता

बुधबार, भदौ ९, २०७८

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।   आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा (एमाले) बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो । दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए ।  सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरे ।  सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए । नेकपा (एमाले) बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो । पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले आजै दलको मान्यता दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार