एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

मंगलबार, भदौ ८, २०७८

काठमडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 
यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ । यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहनुभएका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ ।  बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ ।  यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले)  प्रवेश गरेपछि लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश पन्थीले पदमुक्त गर्ने निर्णय खारेजको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज सांसद पदबाट पदमुक्त गर्ने माओवादी केन्द्रको निर्णय खारेजीको मागमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।  एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पदबाट कारबाही गरेको थियो । उक्त कारवाहीविरुद्ध गत साउन ७ गते उहाँहरुले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपाने र पन्थी गत चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशन–९ को मनोनयन शीर्षकअन्तर्गत १४ र १६ नम्बरमा नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य रहेको देखिएको सुविधा सन्तुलनको दृष्टिकोणले कुनै अपूरणीय क्षति नभएको भन्दै अन्तरिम आदेश दिन नपरेको आदेशमा छ ।  आदेशमा सोही प्रकृतिका निवेदक प्रभु साह, लेखराज भट्ट, कुन्दनप्रसाद कुशवाहसमेत भएको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेशमा छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार