दुई सदस्य पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न नदिने भन्दै सभामुखलाई एमालेको पत्र 

सोमबार, भदौ ७, २०७८

रुपन्देही । नेकपा (एमाले) ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जन सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ । आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दो¥याएको हो । सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र दुई सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उनले बताए ।  यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो । सभामुखले भने, ‘कारवाही गर्न नमिल्ने जवाफ फर्काउनु भएको थियो । सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।’ भदौ १ गतेदेखि नवौँ अधिवेशन शुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । 

एमाले स्थायी कमिटी बैठक मङ्गलबार
यता, काठमाडौंमा विभाजन रोक्न एमालेको स्थायी कमिटी बैठक मङ्गलबारका लागि डाकिएको छ ।  सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।  उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार