कोरोनाको संक्रमण बढेपछि तनहुँका सरकारी कार्यालयमा बारअनुसार सेवा

सोमबार, भदौ ७, २०७८

दमौली । कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो ।  कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “कार्यालय तथा बजारमा  भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ”, उनले भने ।  कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी, भानु नगरपालिका तथा आँबुखैरेनी र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।  बुधबार भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, देवघाट, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी, देवघाट गाउँपालिका तथा भीमाद र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकालाई निर्धारण गरिएको छ । यसैबीच जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । आज नै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्ने छ ।  बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ ।–रासस 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार