सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन् । काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट आज केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गरेका हुन् । सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ । गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको तर क्रियाशील सदस्यताको विवाद आजसम्म पनि विवाद टुङ्गो लागिसकेको छैन । प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्यका बारेमा शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नेताहरू सिटौला, रिजाल र लेखकसहित छलफल भएको थियो । क्रियाशील सदस्यताको बाँकी काम अन्तिम चरणमा पुगेको र आइतबारसम्म सम्पन्न हुने नेता लेखकले जानकारी दिए । साउन ३० गतेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताए । “विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो”, उनले भने । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुखद् भएको उनको भनाइ थियो । पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताउनुभयो । विधि र नियम पु¥याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो । उनले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पारे । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उनको भनाइ थियो ।
'जन अपेक्षाबमोजिम हुन्छ' नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताएका छन् । ज्येष्ठ कांग्रेस सङ्घद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ ।” सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भने । देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो । त्यसैले पनि यो सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताए । कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उनले बताए । उनले ज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उनीहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए । ज्येष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उनले बताए । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए ।