सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के ककस्तो जिम्मेवारी दिने विषयमा छलफल गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको दिशा निर्देशअनुसार पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउने गरी छलफल केन्द्रित गरिएको माओवादीले जनाएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सम्मेलनको तयारी तथा अन्य साङ्गठनिक विषयमा आजको बैठक केन्द्रित थियो । केन्द्रीय समितिको निर्णयअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने सन्दर्भमा विचार विमर्श भएको बताइएको छ । बैठक आइतबार पुनः बस्नेछ । केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधान अनुसार पार्टीका सबै संरचनामा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ । युवाको प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ भने दलित समुदायलाई पनि विशेष सम्बोधन गरिएको छ ।
‘असल कम्युनिष्टबीच एकता आवश्यक’
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलामा उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए । उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।” अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए