गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले दमौली आएर भने, '६ महिनाभित्र पन्ध्र लाखलाई निःशुल्क खोप दिन्छौं' 

बिहीबार, भदौ ३, २०७८

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले भने, 'हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको छौं ।' 'प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो उनले भने, “प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।' प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उनले बताए । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे । 
प्रदेश सरकारले बाढीपहिरोबाट पूर्ण क्षति भएका परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए । बाढीपहिराले प्रदेशका मनाङ, गोरखा, लम्जुङ र तनहुँ जिल्लामा बढी क्षति भएको छ । गण्डकी प्रदेश सरकारको कार्यसम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्याङकन थालिएको उनले बताए ।  प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट क्षतिको बारेमा जानकारी गराएका थिए । मुख्यमन्त्री पोखरेलले आजै पार्टी कार्यालयमा कार्यकर्तालाई भेटघाट गरी निर्देशन दिएका छन् । त्यसैगरी केही दिन अघि आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला पुल बगाएपछि त्यसको अनुगमन पनि उनले गरेका छन् । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो । 

 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार