सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपा एमालेले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद सदस्य पुगे दल विभाजन गर्न सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको बताए । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गरे । एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाए । ‘संसद्मा विचाराधीन कैयौँ विधेयकको टुङ्गो लगाउनुपर्ने र जनसरोकारका कैयौँ विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ,” उहाँले भन्नुभयो, “यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताबमोजिम समेत छैन ।’ बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको जानकारी पनि दिए ।
प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र
नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भूमिश्वर ढकालले जानकारी दिए । शाही प्रदेश सरकारका विना विभागीयमन्त्री हुन् । शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएका थिए । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएको छ भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिइन् ।