मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख

मंगलबार, भदौ १, २०७८

मनाङ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास  निर्माणका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए । उनले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताए । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भने, ‘जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।’ सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिदिएको छ । 
जिल्लामा यस वर्षका वर्षामा ८५ घर पूर्ण क्षतिको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिका–१ मा सबैभन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार नासोंमा मात्रै ७० घरमा क्षति पुगेको छ । धारापानीका १२ घरमा क्षति पुगेको उनले बताए ।  सो अवसरमा अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरा प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताए । गाउँपालिकाको अधिकांश बस्ती बगरका रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता उनले जनाए ।  
अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासोंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले जानकारी दिए । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनाका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मूल सडक, मोटरेबल पुल र झोलुङ्गे पुल बगाएको छ । सडक सञ्जालका साथै सञ्चार र बिजुलीसमेत नहुँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको दुःखेसो छ । भ्रमणमा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री बराल, कांग्रेसका प्रदेशसभा सदस्य चिन्तबहादुर घले,  नेकपा (माओवादी केन्द्र) का नेता कपिल लामा सहभागी थिए ।–रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ १, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ १, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ १, २०७८