प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

मंगलबार, भदौ १, २०७८

मोरङ । प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ  तथा चालु बजेट अधिवेशन अन्त्य गरेका हुन् ।  नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उहाँले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो  ।

यसअघि बसेको प्रदेश सभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरेअनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ ल्याएको बताए ।
उनले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आज बैठममा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम उक्त विधेयक प्रस्ताव स्वरूपसदन समक्ष प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री कार्कीले यो स्टफ कलेजको स्वरूपमा रहने छ भने यसको केन्द्रीय कार्यालय झापा चन्द्रगढीको कलवलगढीमा रहने जानकारी सदनलाई दिए ।
यसैगरी प्रदेश–१ प्रदेशसभा नियमावली २०७४ को नियम ९४ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्कबहादुर आङ्बुहाङ (लिम्बु) ले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
पूर्वगोर्खाले समान पेन्सनसहितको १३ सुत्रीय माग राखी गरिएको आमरण अनशनप्रति एकबद्धता जनाउँछु भन्नुहँुदै उहाँले नेपाल सरकार, सम्पूर्ण कर्मचारीले आन्दोलनप्रति समर्थन जनाउन आग्रह गर्नुभयो । यस्तै सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले तयार पारेको आव २०७७÷७८ को वार्षिक प्रतिवेदन सदन समक्ष पेश गरे । 

शून्य समय
प्रदेशसभाको बैठकको शून्य समयमा सदस्य उपेन्द्रप्रसाद घिमिरे अव्यवस्थित खोला उत्खनन्, भ्रष्टाचार नियन्त्रण, विराटनगरका निजी र सरकारी कोभिड–१९ अस्पतालमा बिरामीलाई आइसियु उपचारको क्रममा एक परिवारजन सदस्यलाई राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उमिता विश्वकर्मा पीसीआर परीक्षण स्थलमा सङ्क्रमितको फोक्सोको एक्सरे व्यवस्था मिलाउन सकेमा धेरै नागरिकको ज्यान जोगाउन सकिनेमा सदनको ध्यानाकर्षण गराए ।  मोहम्मद ताहिर मियाँले सुनसरी जिल्ला  क्षेत्र नं ४ अन्तर्गत  इनरुवा नगरपालिका–९, भुटाहा–१ , हरिनगर–२ र गोविन्दपुर–४ वडामा वाटो जीर्ण अवस्थामा रहेकाले अविलम्व निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरे । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार