सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
अवैध स्याउसहित एक पक्राउ अवैध रूपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज बरामद गरेको छ । भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ बरामद भएको छ । सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो । आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।