सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बिजनेस दिन नसकेपछि अकास्मात अन्त्य गरिएको संसद् अधिवेशन पछि सत्तारुढ गठबन्धनसँग एमालेको संस्थापन पक्ष सशंकित बनेको छ । उसले एमालेलाई विभाजन गर्न दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सरकारप्रति आशंका गरेको हो । सोमबार संसद्मा बोल्ने क्रममा एमाले सांसद महेश बस्नेतले पनि एमालेलाई फुटाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आक्रोश पोखेका थिए । साँझ अध्यक्ष केपी शर्मा ओलीले महे श बस्नेतको दिउसोका संसद्मा दिएको अभिव्यक्तिलाई बल पुग्ने गरी अपिल सार्वजनिक गरेका छन् । ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै कार्यकर्ता पंक्तिलाई सतर्क गराएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’ उनले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गरेका छन् । पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आह्वान गरेका छन् । उनले आज विहान ११ बजे स्थायी कमिटी र त्यसपछि संसदीय दलको बैठक बोलाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको भनाइ छ ।