सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् । सभामुख सापकोटाले भने, ‘माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो उक्त विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।’ पूर्वसञ्चारमन्त्री बाँस्कोटाले अफगानिस्तान सार्क राष्ट्रकै सदस्य राष्ट्र भएको र नेपाल सार्कको अध्यक्ष भएको हुँदा उक्त घटनामा सरकारको दृष्टिकोण आउनुपर्नेमा जोड दिए । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिक त्रसित र भयभित अवस्थामा रहेका हुनाले सङ्कटमा परेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । बाँस्कोटाले भने, ‘देशमा सरकार छ, तर अफगानिस्तानमा रहेका नेपालीको विषयमा चिन्ता देखिएन ।’ उनले जतिसक्दो छिटो अफगानिस्तानमा भएको घटना के हो भनेर सरकारको दृष्टिकोण आउनुपर्ने भन्दै २०७३ सालमा नागरिकमाथि हमला हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको सरकारले तत्काल उद्धारसमेत गरेको स्मरण गराए । उनले तत्काल अफगानिस्तानमा बसेका नेपालीको अवस्था, परिवारलाई सूचना र सरकारका तर्फबाट जतिसक्दो छिटो प्रतिबद्धता आउनुपर्ने माग गरे
नेपाली चाँडो फकाउँन सांसदहरुको माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनु पर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गरे । सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याए । सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन् । सांसद विमला नेपालीले सर्वाेच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको बताइन् । सांसद विमला विकले दार्चुला घटना भएको १८ दिन हुँदा पनि नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको बताए । सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए । सांसद भवानीप्रसाद खातुनले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटकपटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भए पनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराए । सांसद भीमसेनदास प्रधानले भूमाफियाले बालुवा खानी र प्लटिङ गर्दा वातावरण क्षय भएकाले काठमाडौँ उपत्यकामा हरियाली मासिएको बताए । सांसद महेन्द्रकुमारी लिम्बूले अँध्यारोलाई उज्यालो बनाउन कुलमान नियुक्ति गरेको र सरकारले खोप ल्याउन पहल गरिरहेको बताइन् । सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताए । सांसद महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालू हुनुपर्नेमा जोड दिए । सांसद मीनबहादुर विश्वकर्माले कोशी राजमार्गमा पहिलेपहिले १५÷१५ मिटर चौडाइ भनिए पनि अहिले ६२ मिटर चौडाइ कायम भएको तर धेरै नागरिकले मुआब्जा नपाएको औंल्याए । सांसद मिना सुब्बाले समान हकको माग गर्दै अनशनमा रहेका गोर्खा नेपालीको स्वास्थ्य अवस्था नाजुक भएकाले त्यसमा सरकारले विगतमा भएका समझदारी कार्यान्वयन गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिइन् । सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । सांसद मैनाकुमारी भण्डारीले गम्भीर समस्या भएका दुर्गम जिल्लाका नागरिकलाई हेलिकप्टरबाट अस्पताल पु¥याएर उपचार गर्नुपर्ने औँल्याए । सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको बताए । सांसद यज्ञबहादुर बोगटी कोभिड सङ्क्रमण बढिरहेको जिल्ला र पालिका अस्पतालमा डाक्टरको व्यवस्था हुनुपर्नेमा जोड दिए । सांसद यज्ञबहादुर सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताए । सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेट कटौती गरेर पनि विद्यार्थीलाई खोप दिएर कक्षा सञ्चालन गर्नुपर्नै औँल्याए । सांसद रेनुका गुरुङले गोर्खा सैनिकको समान हकका लागि सरकारले वार्ता गनुपर्ने आवश्यक बताए