यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

चीन सरकारले उपलब्ध गराउने २० लाख डलर अनुदान स्वीकार गर्ने
शुक्रबार, मंसिर ४, २०८३

काठमाडौँ । मन्त्रिपरिषद्‌ले प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले भ्रमणका लागि प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
मन्त्री तिमिल्सिनाले सार्वजनिक गरेका निर्णयअनुसार सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको लगत तयार गर्ने भएको छ। त्यसका लागि देशभर त्यस्ता जग्गाको नापजाँच गर्न मन्त्रिपरिषद्‌ले आदेश जारी गर्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र तत्काल उद्धारका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख डलर नगद अनुदान पनि सरकारले स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्‌ले अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘र्‍यापिड क्रेडिट फैसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति, २०८३ स्वीकृत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार